Canalblog
Editer l'article Suivre ce blog Administration + Créer mon blog
Publicité
अनुवाद फ्रेन्च नेपाली
Articles récents
Archives
Pages
Albums Photos
Catégories
9 septembre 2018

युरोपको बिकाश र सुशासनबाट नेपालले सिक्नु पर्ने २४ कुरा /

photo mero

 रामचन्द्र भण्डारी 
पेरिस, फ्रान्स 

     भनिन्छ  बिकशित देशहरु  भौतिक पूर्वाधारमा हामी भन्दा १०० बर्ष अगाडी छन र यो यथार्थ पनि हो | यस सँग सँगै के पनि हो भने यसरि निर्माण गरेका भौतिक पूर्वाधारलाइ टिकाइ राख्न,  त्यसबाट अधिकतम प्रतिफल लिन,  त्यसलाई आधुनिकरण गर्न र  बदलिदो युग सगै थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि यी देशहरुले निर्माण गरेका कानुन, प्रणाली  र   सस्कारहरु सिक्न योग्य छन र सिक्नु पर्छ | हाम्रो जस्तो अबिकशित देशलाइ यो एउटा अवसर पनि हो | उनीहरुले कैयौ बर्षको अनुभब, अध्ययन र  अनुसन्धानबाट सिकेर पचासौ बर्ष अगाडी लागु गरिसकेका कुरा हामीले अझै सुन्न पनि पाएका छैनौँ | यो लेखमा नेपालको आर्थिक बिकाश र सामाजिक सुधारका लागि युरोपियन देशहरुबाट सिक्नु पर्ने कुराहरु अति नै छोटकरीमा   बुदागत रुपमा प्रस्तुत गरिएको छ : 

 

1) श्रम शक्तिको अत्यधिक र बिबेक पूर्ण  उपयोग नै देश बिकाशको अधार हो | श्रम शक्तिलाई  उत्पादकत्वसँग जोड्ने काम शिक्षाले गर्छ | तर दुर्भाग्यको कुरा हाम्रो शिक्षा प्रणालीले अधिकतम अदक्ष कामदार तयार गर्छ | धेरै भन्दा धेरै पाठ्यपुस्तक पढ्ने पढाउने र जतिसक्यो ठुलो डिग्री लिने प्रवृतिले शिक्षा र श्रम बजारलाई बिल्कुल जोड्न सकेको छैन | अर्को तिर पढ्ने जागिर खानको लागि हो र जागिर खाएपछि प्रसस्त कमाउनु पर्छ वा कमाइन्छ भन्ने गलत सस्कार सिकिरहेका छन सानै देखि हाम्रा बिध्यार्थिहरु | बास्तबमा जागिर खाने जीवन निर्वाहको लागि हो भन्ने बिश्वब्यापी मान्यता बिध्यार्थिलाई बुझाइएको छैन जसले भ्रष्टचारलाइ प्रसय दिएको छ| सम्पत्ति आर्जनको लागि  कुनै काम सिकेर उद्धमी  बन्न  सकिन्छ भन्ने कुराको सुइको नै पाउदैनन बिद्यालयमा हाम्रा बिद्ध्यार्थीहरु | डाक्टर, इञ्जिनिअर, शिक्षक, कर्मचारी बाहेक पनि समाजका लागि अति जरुरि अन्य धेरै   पेशाहरु छन भन्ने कुरा बिध्यर्थिलाई  बुझाउन हामीले सकिरहेका छैनौ | माथि उल्लेख गरिएका समस्याको समाधानको लागि शिक्षाको आधारभूत तहमा अध्यापन गर्ने शिक्षक माथिका कुराहरु बुझ्न र बुझाउन सक्ने  उच्च शैक्षिक योग्यता भएको हुनु पर्छ | यस्तो शिक्षक शिक्षण पेशामा मात्र संलग्न रहने र अध्ययनशिल  हुनु पर्छ |

आजको युगमा श्रम बजारलाई एउटा यस्तो कामदारहरुको समुहको खाचो छ जसले प्रतिदिन ८ घण्टा अरु कुनै कुरा नसोची रोबर्टले जस्तै काम गरोस | यस प्रकारको काम ठुला डिग्री पढेका व्यक्तिवाट सम्भब छैन | अत शिक्षाको आधारभूत तह पुरा  गरेको एउटा ठुलो समुहलाई माध्यमिक बिद्यालयमा नपठाई तालिम केन्द्रहरुमा पठाउनु पर्छ | त्यी तालिम केन्द्रहरुमा  कम्पनि र सरकारको संयुक्त सहभागिता हुनुपर्छ | तालिम अवधिभर आधा समय कम्पनीमा काम गर्ने र आधा समय तालिम केन्द्रमा अध्ययन गर्नाले त्यी बिध्यार्थिहरु   तालिम पुरा भइसक्दा दक्ष कामदार बनिसकेका हुन्छन |
माध्यमिक बिद्यालय स्तरको अध्ययन पुरा गरिसेका बिद्यार्थीहरु मध्ये पनि धेरै जनालाई तालिम केन्द्रहरुमा पठाउने र  विद्यार्थीको सानो अंस मात्र विश्व बिद्यालय पठाउने गर्नु पर्छ | यो प्रक्रिया अर्को एक पटक स्नातक तह पुरागर्दा दोहोराउनु पर्छ |   यसो गर्नाले एकातिर कम्पनीहरुले दक्ष जनशक्ति प्राप्त गर्छ भने अर्को तर्फ बिध्यार्थीहरुको अधिकांश हिस्साले समयमै रोजगारी पाइसकेको हुन्छ | युरोपका सबैजसो देशले अपनाएको यो विधिबाट विश्वबिद्यालयहरुमा थोरै भन्दा थोरै संख्यामा  र सक्षम भन्दा सक्षम बिद्यार्थीहरु पुग्दछन | यसो हुदा विश्वबिद्यालयहरुले उत्पादन गर्ने जनशक्ति स्तरीय हुन्छ |

2) देशको बिकाशको प्रमुख आधारनै श्रम शक्ति हो | १६ देखि ६५ बर्ष सम्मको हरेक तह र तप्काको यो  श्रमशक्ति शारीरिक रुपमा स्वस्थ र मानशिक रुपमा स्वतन्त्र भएमा मात्र श्रम बजारले श्रम शक्तिलाई पूर्ण क्षमतामा उपयोग गर्न सक्छ | घरमा खानाको बारेमा चिन्ता लिनुपर्ने, आरामदायी बासमा बस्न नपाउने, मौसम अनुसारको लुगा लगाउन नपाउने, बिरामी परेमा के गरुला भन्ने चिन्ताले निदाउन नसक्ने, अन्तर आत्मले चाहेको बिषयमा अध्ययन वा तालिम गर्न नपाउने नागरिकबाट न त श्रम बजारले पूर्ण क्षमतामा काम लिन सक्छ न त यस्ता श्रमिकले आफु र आफ्नो परिवारलाई चाहिने प्रयाप्त आम्दानी नै गर्न सक्छन | यो अवश्था एक पछि अर्को पुस्ता सर्दै जान्छ | यहि कुरालाई बुझेर नै  युरोपियनहरुले  न्युनतम आम्दानि, बेरोजगारी भत्ता, न्यून भाडाका सामाजिक घरहरु, निसुल्क उपचार र निशुल्क शिक्षा आदि को ब्यवश्था गरेका हुन | नेपालको सन्दर्भमा न्युतम आम्दानि बृद र बिधुवाबाट सुरु भैसकेको छ भने बेरोजगारी भत्ताको लागि पनि ऎन बन्दै छ | यी ब्यवश्थाहरुलाई ब्यापक गरिदै लानु पर्छ | जनता आवाश कार्यक्रम र सुकुम्बासीहरुलाई जग्गा दिने जस्तो खर्चिलो र कठिन कार्यक्रमको सट्टा युरोपमा जस्तै सुकुम्बासीहरुलाई एकीकृत बस्तिहरुमा सस्तो बाहलमा राख्ने व्यवस्थाको सुरुवात गर्नु पर्छ | नगरपालिकाहरुलाई सहभागी गराएर हरेक शहरहरुमा यस्ता परियोजनाहरु संचालन गर्न सकिन्छ |  निजि क्षेत्रको ब्यापक सहभागिताले नेपालमा अब  निसुल्क उपचार र निसुल्क शिक्षाको  लक्ष्य धेरै कठिन देखिन्छ | तर यी दुइ सेवाको निसुल्क वितरण बिना सामाजिक न्यायको कुरा असम्भब छ | 

3) राजनीतिज्ञहरुको क्षमताले बिकाश निर्माणको स्वरुप निर्धारण गर्छ | अबको जमानामा राजनीति केवल समाज सेवा मात्र रहेन | कुनै कार्यकारी पदमा पुगेको ब्याक्ति कुसल व्यवस्थापक हुनु  पर्छ जसले न्युतम  सार्वजनिक रकम लगानीबाट  अधितम प्रतिफल प्राप्त गराउन सकोस | केन्द्रिय सत्तामा भन्दा स्थानीय सत्ताका कार्यकारीहरुमा  अझ बढी कुसलताको आवस्यकता हुन्छ | तर नेपालमा राजनीतिक पार्टी बाहिरबाट कुसल ब्याक्ति खोज्ने र जिम्मेवारी दिने सम्मको उदारता हाल सम्म देखिएको छैन | देशलाइ साच्चै युरोप जस्तो बनाउने हो भने कमसेकम ठुला पार्टीहरुले प्रत्येक बर्ष कम्तिमा   १०० जना  आफ्ना भाबि नेताहरुलाइ  २ बर्ष स्वदेशमा र दुइ बर्ष युरोपियन देशहरुमा तालिमको व्यवस्था गर्नु पर्छ | यसरि तयार भएका नेताहरुलाइ भोलिको दिनमा उसको क्षमता अनुसार स्थानीय सत्ता प्रमुख, जिल्ला प्रमुख, संसद, मन्त्रि लगायत अन्य राजनीतिक नियुक्ति गरिने पदहरुमा जिम्मेवारी दिने परिपाटी बसाल्नु पर्छ|  राज्य संचालन सग सम्बन्धित बिषयमा तालिम गरेका र विदेशको बिकाशलाई नजिकबाट देखेकाहरुले दिगो बिकाशको बाटो कोर्न सक्छन | सुरुमा केहि ठुलो लगानी लागे  पनि यसले भविष्यमा राम्रो प्रतिफल दिनेछ | 

4) हामि हाम्रो प्राकृतिक सम्पदालाइ क्यास गर्न सकिरहेका छैनौ | अचम्मको कुरा त के छ भने विश्वभरको ब्यापार र प्राकृतिक सम्पदामा कब्जा जमाउदै गरेको हाम्रो छिमेकी चिन हामि कहा आइ पुगेको छैन | केहि ठुला परियोजना बाहेक भारत र चीनले नेपालमा  त्यति ठुलो लगानी गरेका छैनन | जानाकारीको कमि, पूर्वाधारको अभाब र  कानुनि झन्झटको आसंकाले गर्दा अन्य ठुला बहुराष्ट्रिय कम्पनिहरु नेपालमा खासै छिरेका छैनन|  नेपालको अहिलेको यो अवश्थालाई राम्रै मान्नु पर्छ | किनकी चीनले आफ्नो व्यापारिक प्रभाब बिस्तार गरेका अमेरिकन, युरोपियन र अफ्रिकन देशहरुका जनताहरु यो कार्यबाट सन्तुष्ट छैनन | अर्को कुरा अहिलेकै प्रसासनिक प्रणाली अन्तर्गत अन्य बहुराष्ट्रिय कम्पनि भित्राउने हो भने केहि बर्षमै हाम्रो देश कंकट   बन्छ|  प्राकृतिक साधनहरुको सदुपयोग गर्दै उत्पादन बृदी गर्ने हालको तरिका प्रयाप्त छैन | अत कृषि, पशुपालन, पर्यटन, जडिबुटी, साना जल बिध्धुत, परम्परागत घरेलु उध्ध्योगहरु आदि क्षेत्रहरुमा काम गर्ने उध्धमिहरु तयार गर्न सरकारले ठुलो लगानी गर्नु पर्छ | 

5) आधा जसो युरोपियन नागरिकहरु  मुस्किलले मासिक  खर्च चलाउछन तर उनीहरु कदापि भन्दैनन कि म  गरिब छु | सरकारले प्रदान गर्ने भत्ताहरु वितरण गर्ने अफिसहरुमा सकभर जानु नपरोस, थोरै भएपनि आम्दानि कर तिरेको पेपर देखाउन पाइयोस भन्ने उनीहरुको चाहना हुन्छ | तर हामीलाई सानै देखि गरिब देशका गरिब जनता हौ भन्ने सिकाइएको छ | अरुको देशमा आर्मी बन्नुलाई बहादुरी र नबोलिकन थ्री डी काम गर्नुलाई नेपालि इमान्दारिताको उपनाम दिइदै आएको छ | निसुल्क कुनै चिज हात लाग्दा युद्द जितेको ठान्छौ |  इन्डियन पाकिस्थानीहरु आफु भन्दा उत्कृस्ट मानिसहरु हुन र अमेरिकन युरिपियनहरु त हाम्रा देवता नै हुन भन्ने मानाशिकताबाट हामि ग्रसित छौ | एउटै  योग्यता हुदा पनि प्राय हामि बिदेशीको हैसियतमा काम गर्ने हिम्मत हामि गर्दैनौ |  यसैले नेपालमा रहदा होस् वा संसारको कुनै पनि देशमा काम गर्दा हामि नेपालि यो मानसिकताका शिकार भइ रहेका छौ | गाउ गाउमा इन्डियन सहयोग  लेखेका एम्बुलेन्सहरु दौडिरहेका छन | पाटि, पौवा, स्कुल भवन आदि  जस्ता संरचनाहरुमा भारत कै लोगो दैनिक देखिन्छ | एक र हजारको अनुपातमा दुइ देश बीचको छात्रबृदि आदान प्रदान हुन्छ | ठुला साना सरकारी भ्रमणहरुमा माग्ने भन्दा अरु काम केहि हुदैन | व्यापार घाटाले विश्व रेकर्ड नै कायम गरेको छ | यस्तो अवस्थामा भारतको बिरोध र स्वाभिमानको कुरा गर्नु  आफै कार्टुन  हुनु सिबाय केहि होइन | अन्य छिमेकी देशहरुसगको सम्बन्धको अवस्था पनि लगभग उस्तै छ |  यदि युरोपियनहरु जस्तै स्वाभिमानी नागरिक हुने हो भने सर्वप्रथम हामी र हाम्रो देश गरिब हो भन्ने कुरा बोल्न र सोच्न छोड्नु पर्छ | जनमानसमा बिदेसी राष्ट्रको प्रभाब छोड्ने हेतुले गरिएका सहयोगहरु र संरचनाहरुको  जनस्तर बाटै बहिस्कार गर्नुपर्छ | छात्रबृदि लिने  घिनलाग्दो होडबाजीलाइ छोडेर स्तरीय  युनिभर्सिटीहरु देशमै स्थापना गर्नुपर्छ |  ब्यापार घाटा कम गर्नको लागि हरेक राजनीतिक पार्टीहरुले कम्तिमा आफ्ना कार्यकर्तालाइ स्वदेशी उत्पादन प्रयोग गर्नको लागि ह्विप जारि गर्नु पर्छ | अर्को कुरा विदेश जाने युवाहरुलाई यस्ता तालिमहरु दिनु पर्छ जसबाट कम्तिमा उनीहरुले थ्री डी भन्दा अलि माथिल्लो स्तरको काम गर्न सकुन |  यी माथिका कामहरु तिर ध्यान नदिदा सम्म हामि बिरका सन्तान बहादुर नेपाली र नबोलिकन थ्री डी काम गर्न तयार तथाकथित इमान्दार नेपाली नै भएर रहनेछौ विश्व रंग मन्चमा | 

6) युरोप र अमेरिका बिकाश हुनुको एउटा प्रमुख कारण उनीहरुको अप्रवाशिहरु नीति हो | सुरु सुरुमा तल्लो स्तरका अप्रवाशी श्रमिकहरु भित्राएर सत प्रतिसत पूर्वाधार निर्माण गर्न सफल भएका उनीहरुको हालको रणनीति बदलिएको छ | उनीहरु अब संसारका अति दक्ष जनशक्तिलाई आफ्नो देशमा भित्राउने होडबाजीमा छन | अर्को तर्फ अप्रवाशिहरुको लामो र स्थाई बसाइले  यी देशहरुको सान्ति सुरक्षामा चुनौती दिइरहेको छ | स्थानीय तथा केन्द्रिय सत्ताहरुमा पुर्खौली देशवासीको बर्चश्व बिस्तारै गुम्दै  छ | बिकसित देशका यी अनुभबबाट नेपालले धेरै सिक्नु पर्छ | हाम्रो देशमा श्रम सक्तिको कमि छ तर बिदेशीहरु झिकाउनु पर्दैन | भरपर्दो काम देशमा पाइन्छ भन्ने कुराको ग्यारेन्टी मात्र भए विदेश गएर  श्रम गरिरहेकाहरु देश फर्कन आतुर छन | दक्ष र अति दक्ष जनशक्तिको रुपमा संसारभर काम गर्ने नेपालिहरु प्रसस्त छन अहिले | यस्ता जनशक्तिहरु मध्ये अधिकांशलाइ नेपाल गइ कसरि स्थापित हुने भन्ने चिन्ताले सताई रहेको पाइन्छ | यिनीहरु नेपालमा जागिर भन्दा पनि आफुले बिदेशमा सिकेको ज्ञान र शिपमा आधारित उद्दम गर्न चाहन्छन | त्यसको लागि आफ्नो देशमा सबै कुरा बिदेशमा जस्तै  सिस्टममा चलोस, आफु उद्दमी बन्न खोज्दा कसैको चाकडी गर्नु नपरोस भन्ने मात्र चाहना राख्छन उनीहरु | यदि यी दुइ बर्गका गैर आवाशीय नागरिकलाइ नेपाल भित्राउन सकेको खण्डमा हाम्रा सिप तालिम केन्द्र र विश्व बिद्यालयहरुले ५० बर्षमा उत्पादन गर्न नसक्ने जनसक्ति देश भित्रिन सक्ने सम्भावना छ |  अत हामीलाई देश बिकाशको लागि अन्य देशका  अप्रवाशिहरुलाई देश भित्राउनु पर्ने आवश्यकता छैन | त्यसैले भारत, तिब्बत र भुटानबाट हाल भइ रहेको आप्रवाशिहरुको आगमनलाइ रोक्नु पर्छ |  

7) कुनै पनि देश युरोप जस्तो बन्नको लागि त्यो देशमा घुस लिने वा दिने  कुरा कल्पना क्षेत्र भन्दा बाहिरको कुरा हुनु पर्छ | नेपालको बिकाश र सुसासनको प्रमुख बाधक अक्तियारको दुरुपयोग र भ्रष्टचार हो | यसले गैर कानुनी धनको आदान प्रदान सगै अन्य आर्थिक गतिविधिहरुलाई नराम्रो प्रभाब पारिराखेको छ | जसरि पनि पैसा कमाउनु पर्छ भन्ने सामाजिक मान्यता ब्याप्त हुनु, अक्तियारको दुरुपयोग र भ्रष्टचार भन्नाले केवल घुष लेन देनलाइ बुझ्नु, अक्तियारको दुरुपयोग र भ्रष्टचार बिरुद्द काम गर्ने निकाय ससक्त नहुनुको कारणले नै कर्मचारीतन्त्र दिन प्रतिदिन भ्रष्ट भइरहेको छ | जागिर गरेर ठुलो सम्पत्ति आर्जन गर्न सकिदैन भन्ने कुरा सबैले बुझ्नु जरुरि छ | श्रोत नखुलेको सम्पत्ति सरकारीकरण गर्ने अभियान नै संचालन  गरेमा मात्र नयाँ कर्मचारीहरुले घुस लिने वा भ्रष्टचार गर्ने आट गर्दैनन | अक्तियारको दुरुपयोग र भ्रष्टचारलाइ घुस लिने दिने कार्य सग मात्र जोड्ने हाम्रो बुझाइ नै गलत छ |  नेता तथा कर्मचारीहरुले कमिसन लिने, उपहार लिने, आफ्नो पेशा बाहेक अन्य पेशामा संलग्न भइ पदीय प्रभाबका आधारमा आर्थिक  लाभ लिने, कानुनले तोके भन्दा बढी चन्दा लिने आदि कार्यहरु पनि अक्तियारको दुरुपयोग र भ्रष्टचार अन्तर्गत पर्दछन भन्ने कुरा बुझ्नु बुझाउनु पर्छ | अक्तियारको दुरुपयोग र भ्रष्टचार भन्ने कुरा अति  ब्यापक तर गोप्य हुन्छ | भ्रष्टचारिहरु प्रमाण मेटाउन माहिर र पैसाको लगानीमा सक्ति केन्द्रद्वारा संरक्षित हुन्छन | यिनीहरुको कुकार्यलाई आकर्मण  गर्न न त मन्त्रीहरुका एक दुइ छड्के निरीक्षण   प्रयाप्त हुन्छ, न त खरदार देखि बढुवा हुदै र राजनीतिक हस्तक्षेप खेप्दै आएका अक्तियारका अधिकृतको प्रयास काफी छ | साच्चिकै भ्रष्टचार निर्मुल गर्नको लागि एकातिर चेतन मुलक तथा दवाबमुलक कार्यक्रम संचालन गर्नु पर्छ भने अर्को तिर बिकसित देशमा जस्तै चार पाच सय जनाको  अति योग्य, गोप्य , स्वतन्त्र र अति इमान्दार टोलिलाइ भ्रष्टचार र कर छली बिरुद्दको अभियानमा स्थाई रुपमा खटाउनु पर्छ | 

8) हामीमा केहि गलत बिचारहरुले जरा गाडेको छ| केहि उदाहरण हरु : हामि आफूभन्दा ठुलोलाई आदर गर्ने नाममा उसको  गलत कुरालाई पनि मौन समर्थन गर्छौ | अरुलाई आदार गर्ने हाम्रो पारामा  नितान्त सामन्ती युगको गन्ध छ |  कसैलाई  अपमान नगर्नु नै उसलाई सम्मान गर्नु हो भन्ने ढंगले बुझ्नु पर्छ | हाम्रोमा गणेश प्रवृति ब्यापक हाबी छ | अर्थात सेवकहरुले जिम्मेवारी पाउने चलन छ |  देश बिकाशको लागि यो सबै भन्दा घातक पक्ष हो | सेवकहरुलाई होइन योग्यहरुलाई जिम्मेवारी दिने सस्कारको बिकाश नहुदा सम्म बिकाशले गति लिदैंन र प्रतिभा पलायन भइ नै रहन्छ | महिलाहरुलाइ समाजले गर्ने अघोसित घेराबन्दि र श्रीमानको आडमा सिन्को नभाची समाजमा असमानताको संदेश फैलाउने नारीहरुको समुह  हाम्रा समाजका बिकाशका बाधक हुन|   बिधवा हुनु, अबिबाहित बस्नु , मन नमिलेमा सजिलै सम्बन्ध बिच्छेद गर्नु, सम्बन्ध बिच्छेद पछि  बिबाह गर्नु,  आफुलाई चाहेको पुरुष रोज्नु जस्ता महिलाका ब्याक्तिगत मामिलालाई समाजले सजिलै ग्रहण गर्ने सस्कार बिकाश नभए सम्म जनसख्याको आधा भाग ओगटेको समुहबाट देशले सोचे अनुरुप फाइदा लिन सक्दैन | बृद आश्रमलाइ मागी खाने निरिहहरुको आश्रय स्थालको रुपमा बुझ्नाले परिवारले ठुलो सामाजिक दवाब सामना गर्नु परिरहेको छ भने बृदहरु आधुनिक सेवा सम्पन्न बृद आश्रमको सबिधाबाट बन्चित हुनु परेको छ | टोल टोलमा सरकारी तथा निजि लगानीमा बृद आश्रमहरु स्थापना गर्नु आजको आवश्यकता हो भन्ने कुरा बुझ्नु बुझाउनु जरुरि छ|  महिला, बृद,बालबालिका र अपाङ्गहरुको नाममा खुलेका सस्थाका प्रमुखहरुलाई देवत्वकरण गरिदा यस्ता संस्थाहरुले आफुलाई कानुन भन्दा माथि सम्झेका उदाहरणहरु  प्रसस्तै देख्न सकिन्छ | यस्ता संस्थाहरुले त्यसमा आश्रितहरुलाई अधिकार होइन दया बाँडिरहेका छन | यस्ता संस्थाहरुलाइ युरोपियन देशहरुमा जस्तै सरकारले संचालन गर्नु जरुरि देखिन्छ|   ठुलो   पैत्रिक सम्पत्तिका हकदारहरुले सानो तिनो काम गर्न नहुने, मुखियाका नाति नातिनीहरूले हजुर बुवाकै नाम बेचेर हैकम जमाउनु पर्ने, उत्पादन मुलक काम गर्नेहरु र प्राज्ञिकहरु अपहेलित हुने तर गैर कानुनि दलालहरु सम्मानित रहने /  एकातिर धामी,  देबी, माताजी, लिटिल बुद्द, गूगल ब्वाय आदि जस्ता निराधार कुराहरुमा हाम्रो समाजले सतप्रतिसत बिश्वाश गर्छ  भने अर्को तिर  कुनै बिषयको  बिशेषज्ञले आफ्नो विशेषज्ञता देखाउने अवसर पाउन धेरै मुस्किल छ | हाम्रोमा हाल विद्धमान माथि उल्लेख गरिएका सबैजसो मान्यताहरु हाम्रो धर्मका अंग होइनन | यी सबै संस्कारहरु सबै जसो बिकसित देशमा एक काल खण्डमा हाम्रोमा जस्तै जनजनको दिमागमा थिए | लामो अध्ययन, अनुसन्धान र प्रयाशबाट  त्यी देशहरुले बिकाश बिरोधि यी    सस्कारहरुलाई हटाउन सफल भएको कुरा इतिहासमा पढ्न पाइन्छ | हाम्रो पनि अब त्यहि बाटो हुनु पर्छ |

 

9) कुनै देश बिकशित र सभ्य हुनको लागि त्यो देशका नागरिकहरुले पूर्ण क्षमतामा काम गर्नु पर्छ | मानिसले पूर्ण क्षमतामा तब मात्र काम गर्न सक्छ जब उ शारीरिक र मानशिक रुपमा स्वास्थ्य हुन्छ | सामाजिक रुपमा अपहेलित मानिसहरु मानसिक रुपमा स्वास्थ्य  हुदैनन | समाजमा केहि सब्दहरु र चलनहरु यस्ता हुन्छन जसले नजानिँदो ढंगले समाजको केहि बर्ग अपमानित भैरहेको हुन्छ | युरोपियन देशहरुले  यो कुरालाई  आज भन्दा धेरै बर्ष अगाडी बुझेर यी कुरा बिरुद्द कडा कानुन लागु गरेको छ | अपमान जनक सब्दहरु जस्तै काले,अरबी , बैरो, अपांग आदि जस्ता सब्दहरु प्रयोग गरेको कहिँ कतै सुनिदैन | एकातिर यस्ता सब्दहरु प्रयोग गरेको अरुले सुनेमा त्यो व्यक्तिलाई एउटा असभ्य ब्याक्तिको रुपमा लिने गरिन्छ भने अर्को तर्फ यस्ता सब्द प्रयोग गरेको प्रमाणित भएमा १५ सय युरो देखि ४५ हजार युरो सम्म जरिवाना र १ बर्ष सम्म जेल हुन् सक्छ ( फ्रान्समा ) | 

नेपालको सन्दर्भ यो एउटा बिकराल समस्या हो | दलित भन्ने मात्र होइन कि छोएकै नखाने चलनले अहिलेका आधुनिक र सिक्षित दलित युवा युबतीहरु मानसिक रुपमा कति प्रताणित होलान त्यसको मुल्याकन सब्दमा ब्यक्त गर्न कठिन छ | अपमानित गर्ने हेतुले उच्चारण गरिने मदेशी, धोति, पहाडिया,  अपाङ्ग, बैरो, डुडो, राँडी आदि जस्ता सब्दहरुलाई हामि सामान्य रुपमा लिन्छौ | बोक्सीको आरोप लागेका दिदि बहिनीहरु आफ्नै छर छिमेकिहरुबाट दैनिक अपमानित भइरहेका हुन्छन | हाम्रोमा यो बिकृतिको बिरुद्द कानुनि कारवाहीको ब्यवश्था भए पनि दण्डित हुनेहरु  नगन्य छन, पिडित हुनेहरु दैनिक लाखौ छन | समाजका अगुवा, कानुनका रक्षक र समाजका बुद्दिजीबीहरुले समेत यो अपराधलाइ अपराधको रुपमा स्वीकार गरेको पाइदैन किनकी उनीहरु यहि समाजमा हुर्केका हुन, जुन आदत बनिसकेको छ \ नेपालको बिकाशको यो प्रमुख अबरोध हटाउनको लागि नेपालमा ठुलो लगानी गर्नु पर्छ | प्राथमिक बिध्ध्यालय तहमा दलित र बोक्सी प्रतिको गलत धारण बिरुद्द लगातार अभियान चलाउन सकेमा कलिलो दिमागबाट यी दुइ सब्दहरु सदाको लागि हट्ने छन | यस्तै समुदाय स्तरमा जनचेतनाको माध्यमबाट दलित र बोक्सी सम्बन्धि मानिसहरुको धारणामा परिवर्तन ल्याउन सकिन्छ | कसै प्रति अपमानजनक सब्दहरु प्रयोग गर्नेहरुलाई निरुत्साहित गर्ने र कानुनि कारवाही गर्ने कुरा पनि समानान्तर रुपले लैजानु पर्छ

10 )  देश भित्र रहेको सबै चल तथा अचल सम्पत्ति पहिला राष्ट्रको हो अनि मात्र ब्याक्तिको हो | प्रजान्त्रिक मुलुकमा सरकारले ब्याक्तिको सम्पत्ति कब्जा गर्न सक्दैन तर निगरानी गर्नु सरकारको हक र कर्तब्य हो | यहि सिद्दान्तको आधारमा युरोपियन देशहरुले स्व घोषणाको माध्यमद्वारा हरेक नागरिकको बार्षिक आम्दानि र अचल पूजीको जानकारी लिन्छन | बर्षको एकपटक हरेक नागरिकले आफ्नो सम्पत्ति र आफ्नो आय आफै घोषणा गर्छ | सबैजसो कारोबारहरु बैंक मार्फत गर्नुपर्ने भएकोले आम्दानि लुकाउन सम्भब छैन, श्रोत नखुलेको सानो रकम पनि बैकले नलिने भएकोले गैर कानुनि कारोबार लागु पदार्थ व्यापारमा मात्र सिमित छ | अचल सम्पत्ति लुकाउन सकिने कुरा रहेन | यसरि नागरिकहरु आफैले घोषणा गरेको गत बर्षको आम्दानि अनुसार उनीहरु यो बर्ष गरिब, मध्यम बर्ग वा धनिको रुपमा वर्गीकृत गरिन्छन | मध्यम बर्ग र धनिहरु कर तिर्छन भने गरिबहरु भत्ता बुझ्दछन | यसरि हरेक बर्ष नागरिकहरु स्व घोषणाको आधारमा बर्ग बर्गमा  विभाजित  हुन्छ र सोहि अनुसार पुनर्वितरण गरिन्छ | आम्दानीको स्व घोषणा गर्दा प्राप्त गरेको कागजले त्यो व्यक्तिको आर्थिक हैसियत झल्काउने गर्छ | अर्थात यस प्रकार गरीबहरुको पहिचान गरिन्छ |
नेपालमा पैसा र समयको ठुलो लगानी गरेर गरिब परिचय पत्र वितरण गरियो / यसो  गर्दा पनि गरिबले गरिब परिचय पत्र नपाएको  तर सम्पन्नहरुले गरिबी परिचय पत्र लिएको हल्ला ब्यापक छ | नेपालमा पनि स्व घोषणाद्वारा गरिब पहिचान गर्नु पर्छ | धेरै आम्दानि घोषणा गर्नेहरुलाई लगानीमा बिशेष सुबिधाहरु प्रदान गर्ने र कम आम्दानि घोषणा गर्नेहरुलाई एक गरिब परिवारले पाउने सुबिधा प्रदान गर्नु पर्छ | बिकसित देशहरुले जस्तै हाम्रो हुलाक सेवालाइ बैंकमा परिणत गरि सबै नागरिकहरुले बैंकबाट कारोबार गर्न सक्ने बनाउनु आवस्यक छ | अति न्युतम रकम बाहेक सबै कारोबार चेक तथा बैंक कार्डबाट गर्नु पर्ने अनिवार्य ब्यवश्था गर्न सके आम्दानि स्व घोषणा प्रणाली प्रभाबकारी रुपमा लागु गर्न सकिन्छ | हाम्रो समाज र हाम्रो  बिकाशको अर्को प्रमुख सत्रु व्यक्तिगत ऋणको आदान प्रदान हो | सहरहरुमा मिटर ब्याज र गाउघरमा पुर्खौली साउको चक्रबृदी ब्याजले मानिसहरुको बर्बादी गरिरहेको छ | व्यक्तिगत ऋणको आदान प्रदानलाइ पूर्ण प्रतिबन्ध लागाउनु पर्छ | बैंक र सहकारीबाट मात्र ऋण लिने गर्नु गराउनु पर्छ|

11) भनिन्छ  बिकशित देशहरु  भौतिक पूर्वाधारमा हामीभन्दा १०० बर्ष अगाडी छन र यो यथार्थ पनि हो | यस सँग सँगै के पनि हो भने यसरि निर्माण गरेका भौतिक पूर्वाधारलाइ टिकाइ राख्न,  त्यसबाट अधिकतम प्रतिफल लिन,  त्यसलाई आधुनिकरण गर्न र  बदलिदो युग सगै थप भौतिक पूर्वाधार निर्माण गर्नका लागि यी देशहरुले निर्माण गरेका कानुन, प्रणाली  र   सस्कारहरु सिक्न योग्य छन र सिक्नु पर्छ | हाम्रो जस्तो अबिकशित देशलाइ यो एउटा अवसर पनि हो | उनीहरुले कैयौ बर्षको अनुभब, अध्ययन र  अनुसन्धानबाट सिकेर पचासौ बर्ष अगाडी लागु गरिसकेका कुरा हामीले अझै सुन्न पनि पाएका छैनौँ |  हाम्रो यो कमजोरीको कारण बिकसित देश र तिनीहरुका बहुराष्ट्रिय कम्पनिहरुले हामीलाई विभिन्न अनावस्यक सर्तहरुमा फसाउन सफल भएका छन | अत नेपाल सरकारले कम्तिमा १०  बिकसित देशका  बिषय बिसेषज्ञ ( नेपालि नागरिक) तयार गर्नु पर्छ जसमा  सम्बन्धित देशको बारेमा  पूर्ण ज्ञान होस |  यसै गरि निजि क्षेत्रको सहभागितामा अन्तर्राष्ट्रीय स्तरका सयौ सरकारी मान्यता प्राप्त दलालहरु तयार गर्नु पर्छ जसले नेपालका उत्पादन र जनसक्तिलाइ संसारभर पुराउन सकोश, सरकारले आवश्यक ठानेको क्षेत्रमा संसारको अर्को कुनाबाट पुजी, सिप र प्रबिधि भित्राउन सकोस |  यस्ता दलालहरुले देशलाई आवस्यक बहुराष्ट्रिय कम्पनीहरु उचित सर्तमा देश भित्राउन भूमिका खेल्न सक्छन |  बिकसित देशबाट सिक्नका लागि व्यवशायीक पत्रकार र अनुवादकहरुको ठुलो भूमिका हुन्छ | उनीहरुले बिकसित देशमा बिकाश भएका नयाँ प्रबिधि, नयाँ संस्कार, नया कानुन बारेमा तत्काल जनाकारी गराउने हैसियत राख्दछन | अत कम्तिमा १० बिकसित देशमा आफ्ना  व्यवशायीक पत्रकार र  अनुवादकहरु राख्न सकेमा त्यसबाट देशले ठुलो फाइदा लिन सक्छ |

 12) देशमा विकास  र सुधारका काम गर्नको लागि राजनीतिक स्थायित्व एक प्रमुख सर्त हो |राजनीतिक स्थायित्वको लागि दुइ पार्टी प्रणाली एक राम्रो बिकल्प हो | यस सन्दर्भमा गत साल सम्पन्न बामपन्थी एकतालाइ एउटा ठुलो उपलब्धिको रुपमा लिनु पर्छ | तर यो पार्टी भित्र बैचारिक रुपले   दुइ ध्रुबको उदय भइ सकेको स्पस्ट देखिन्छ | एक थरिहरु उत्तर कोरिया र क्युवाको सासन प्रणालीलाइ आदर्श मान्नेहरु छन तर उनिहरु  इमान्दार र आदर्सबादी  छन |  अर्का थरिहरु नव एलिट बन्ने दाउमा छन र दलाल पुजीपतिको लागि काम गर्न थालिसकेका छन | यी दुवै विचार बर्तमान   बामपन्थी समूहको नेतृत्व गर्नका लागि उपर्युक्त छैनन् |  यो दुवै समुहको अस्तित्व अहिले कै हिसाबले अगाडी बढेमा  एकीकृत पार्टी टुक्रिन लामो समय लाग्दैन | फलस्वरूप वामपन्थीहरुको नेतृत्व गरेको पार्टी फ्रान्सको समाजवादी पार्टी जस्तै धरासाही हुन सक्छ | हालको सत्तारुढ वामपन्थी पार्टीले यी दुइ बिचारहरु बिचको बाटो लिने र सबै कार्य कर्ताहरुलाई पनि सोहि बाटोमा हिडाउन सक्नु पर्छ |  दुइ पार्टी प्रणालीको लागि अबको अर्को आवस्यकता गैर कम्युनिस्टहरुको ध्रुविकरण हो | हाम्रा नेता तथा राजनीतिक दलहरु भ्रष्ट हुनाले विकास र सुधारका धेरै कामहरु अबरुद्द भएका छन | हरेक नागरिक कुनै न कुनै पार्टीका अन्धभक्त कार्यकर्ता बनेका छन, राजनीतिक पार्टी र तिनका नेताहरुलाइ  मनपरी चन्दा उठाउने छुट छ | देख्दा सामान्य देखिने यी  प्रवृतिहरु  सुशासनका लागि  घातक  पक्षहरु हुन | बिकसित देशमा जस्तै पार्टीका सक्रिय कार्यकर्ता बाहेकका  हामीहरु स्वतन्त्र नागरिक भएर रहने अभ्यास गर्नै  पर्छ | यसो भएमा मात्र निर्वाचनमा योग्य  उम्मेद्वारहरु निर्वाचित हुने अधिक सम्भावना हुन्छ | राजनीतिक पार्टी र उनका नेताहरुलाई चन्दाबाट टाढा नराख्दा सम्म चुनाबको लागि दलाल पुजिपतिहरुबाट चन्दा लिने र निर्वाचन जितेपछि उनीहरुकै फाइदाका लागि काम गर्ने चलन रहिरहन्छ | अन्तत देशको सासन सत्ता जनताका  प्रतिनिधिको भेषमा रहेका तर दलाल पुजिपतिहरुको लागि काम गर्ने शासकको हातमा जान्छ | यसले गरिब र धनि बिचको खाडल अरु बढाउछ | यहि कुरा बुझेका बिकसित देशहरुले राजनीतिक पार्टीहरुलाई देशको ढुकुटीबाट खर्च दिने गर्दछन | नेपालमा पनि राजनीतिक पार्टीहरुलाई उनीहरुले प्राप्त गरेको मतको आधारमा सरकारले आर्थिक सहयोग गर्नु पर्छ र राजनीतिक गतिविधिको नाममा चन्दा लिने काम पूर्ण रुपले बन्द गर्नु पर्छ |

क्रमश ..........

रामचन्द्र भण्डारी 
पेरिस, फ्रान्स

 

Publicité
Commentaires
अनुवाद फ्रेन्च नेपाली
Publicité
अनुवाद फ्रेन्च नेपाली
  • यस ब्लगको मुख्य उद्देस्य : नेपाल र नेपालीलाइ उपयोगी हुने खालका फ्रान्ससग सम्बन्धित समाचार तथा लेखहरु नेपाली पाठकहरु सम्म पुराउनु हो |
  • Accueil du blog
  • Créer un blog avec CanalBlog
Derniers commentaires
Publicité